आज जनै पूर्णिमा । एकातिर देशभर धार्मिक तथा सांस्कृतिक पर्वको उल्लास छ भने अर्कोतिर रसुवामा आएको बाढीका कारण नागरिकहरू पीडित र आक्रान्त बनेका छन्।
यही संवेदनशील परिस्थितिबीच पीडित नागरिकको घाउमा थोरै भए पनि मलम लगाउने उद्देश्यले रु. २५१२ सहयोग गर्दै तुलसीमाला मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘साझा सूचना डटकम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नेपाली पत्रकारिता र सञ्चारको क्षेत्रमा एउटा नयाँ यात्राको सुरुवात गर्दै गर्दा हामी हाम्रा पाठक, शुभेच्छुक, स्रोत र आम नागरिकप्रति उत्तरदायी पत्रकारिताको प्रतिबद्धता व्यक्त गर्दछौँ।
सूचना प्रविधिको तीव्र विकाससँगै समाचार प्राप्त गर्ने र फैलाउने माध्यम सहज बनेको छ। तर यही सहजतासँगै भ्रामक सूचना, अपुष्ट समाचार र फेक न्युजको चुनौती पनि गम्भीर बन्दै गएको छ। सामाजिक सञ्जालमा आएको एउटा सूचना क्षणभरमै हजारौँ मानिससम्म पुग्ने अवस्था छ। यस्तो परिस्थितिमा पत्रकारिताको जिम्मेवारी समाचार छिटो दिनु मात्र होइन, सही सूचना दिनु हो भन्ने हाम्रो दृढ विश्वास छ।
त्यसैले साझा सूचना डटकमले समाचार प्रकाशनपूर्व स्रोतबाट तथ्य पुष्टि गर्ने, आवश्यक परे एकभन्दा बढी स्रोतसँग जानकारी लिने र उपलब्ध तथ्यलाई जाँचबुझ गरेर मात्र समाचार प्रकाशन गर्ने पत्रकारिताको अभ्यासलाई प्राथमिकता दिनेछ। समाचारको गति महत्त्वपूर्ण छ, तर सत्यभन्दा ठूलो कुनै ‘ब्रेकिङ’ हुँदैन। हामीलाई समाचार छिटोभन्दा पनि विश्वसनीय बनाउनु छ।
हाम्रो पत्रकारिताको केन्द्रमा सत्ता, शक्ति वा पहुँच मात्र रहने छैन। पीडितको आवाज, सीमान्तकृत समुदायको आवाज, पछाडि पारिएका नागरिकको आवाज र राज्य तथा समाजको ध्यान नपुगेका विषयहरूलाई प्राथमिकताका साथ उठाउनु हाम्रो दायित्व हुनेछ। जसको आवाज सुनिँदैन, उसको आवाज बन्ने प्रयास नै साझा सूचनाको पहिचान हुनेछ।
सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने, गलत कामप्रति खबरदारी गर्ने, जिम्मेवार पक्षलाई जवाफदेही बनाउने र जनताका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने पत्रकारितालाई हामी प्राथमिकता दिनेछौँ। आलोचना हाम्रो उद्देश्य होइन, सुधारका लागि तथ्यमा आधारित खबरदारी हाम्रो उद्देश्य हुनेछ।
हाम्रो यात्रा आजबाट सुरु भएको छ। यो यात्रा हाम्रो होइन, सत्य र विश्वसनीय सूचना चाहने हरेक नागरिकको साझा यात्रा हो।
हामी गल्तीबाट मुक्त छौँ भन्ने दाबी गर्दैनौँ। तर गल्ती भए सच्याउने, प्रश्न उठे जवाफ दिने र पत्रकारिताका आधारभूत मूल्यप्रति इमानदार रहने प्रतिबद्धता अवश्य गर्छौँ।
साझा सूचना—सत्यको खोजीमा, जनताको सूचनाको अधिकारको पक्षमा।
आजदेखि सुरु भएको हाम्रो यो यात्रामा तपाईंको सुझाव, खबरदारी, सहकार्य र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हुनेछ।
