भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसपछि गएको पहिरोबाट प्रभावित परिवारको पीडामा कलाकारहरू पनि सहारा बनिरहेका छन् । मनोरञ्जन क्षेत्रमा सक्रिय कलाकारहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोगदेखि राहत सामग्री वितरण र प्रभावित क्षेत्रमै पुगेर पीडितसँग भेटघाट गर्नेसम्मका कामलाई तीव्रता दिएका छन् ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि कलाकारहरूले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न थालेका हुन् । यसैक्रममा अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले नुवाकोटका बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गर्नुभएको छ ।
भोटेकोशी बाढीले निम्त्याएको विपत्मा कलाकारहरूको सहयोग केवल राहत सामग्री वितरणमा सीमित देखिएको छैन । तत्कालीन राहतदेखि उपचार, अस्थायी आवास र दीर्घकालीन पुनर्निर्माणसम्म कलाकार तथा सामाजिक अभियन्ताहरूको सक्रियता बढ्दै गएको छ । विपत्को पीडामा राज्यको प्रयाससँगै नागरिकस्तरबाट भइरहेको यस्तो सहयोगले प्रभावित परिवारलाई तत्काल राहतसँगै मनोबलसमेत प्रदान गरेको छ ।
तीजको छेको पारेर यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’की अभिनेत्री खड्काले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घरबारविहीन भएका परिवारलाई मंगलबार राहत सामग्री उपलब्ध गराउनुभएको हो ।
राहत वितरणपछि उहाँ नुवाकोटको पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुग्नुभयो । त्यहाँ उपचाररत तथा बाढीबाट प्रभावित र उद्धार गरिएका व्यक्तिसँग उहाँले भेटघाट गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिनुभयो । पिपलटारका वडा अध्यक्षसँग भेटेर प्रभावित क्षेत्रको अवस्था तथा तत्काल आवश्यकताबारे जानकारी लिनुभएकी उहाँले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोभ्ससमेत हस्तान्तरण गर्नुभयो । आफूले गरेको सहयोग ठूलो नभए पनि संकटको समयमा प्रभावित परिवारको साथमा उभिन पाएकोमा खुशी लागेको न्यान्सीले बताउनुभयो ।
सरकारी राहत कोषमा शारदाको पाँच लाख
यता चलचित्र तथा टेलिशृंखलाकी लोकप्रिय कलाकार शारदा गिरीले बाढी प्रभावितको सहयोगार्थ सरकारी राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । दर्शकमाझ ‘काली बुढी’ उपनामले परिचित गिरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत सहयोगबारे जानकारी दिँदै विपत्को यस दुःखद घडीमा थोरै भए पनि पीडितलाई राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरेको बताउनुभएको छ ।
आश्मा र नीतिको १५ लाख बराबरको राहत
पूर्वमिस नेपाल आश्माकुमारी केसी तथा पूर्वमिस नेपाल इन्टरनेसनल एवं अभिनेत्री नीति शाहले पनि भोटेकोशी बाढी प्रभावितका लागि झण्डै १५ लाख रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउनुभएको छ । आफन्त तथा साथीभाइबाट समेत सहयोग संकलन गरेर उहाँहरूले सामाजिक संस्था ‘हामी नेपाल’मार्फत प्रभावित परिवारका लागि राहत पठाउनुभएको हो ।
उहाँहरूले उपलब्ध गराएको राहत सामग्रीमा ५१ वटा टेन्ट, दुई सय कार्टुन चाउचाउ, नयाँ लुगा, स्यानिटरी प्याड, टर्चलाइटलगायत सामग्री छन् । ५१ वटा टेन्टबाट करिब पाँच सयदेखि ६०० जनाले अस्थायी आवासको सुविधा पाउने बताइएको छ । केही दिनअघि आश्मा र नीतिले बाढी प्रभावित बेत्रावतीका एक व्यक्तिलाई श्रीमतीको उपचारका लागि तीन लाख रुपैयाँसमेत सहयोग गर्नुभएको थियो ।
‘बल्छी धुर्बे’सहित कलाकारको टोली गाउँ-गाउँमा
टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’मा आबद्ध कलाकारहरू पनि राहत वितरणका लागि प्रभावित क्षेत्रमै खटिएका छन् । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहितको टोलीले सोमबार नुवाकोटको विदुरमा २० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । यसअघि त्रिशूली-११, गेर्खु तथा विदुर–२ लगायतका क्षेत्रमा ३० भन्दा बढी बाढी प्रभावित परिवारलाई लत्ताकपडा, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको ‘बल्छी धुर्बे’ले जानकारी दिनुभयो । टोलीले करिब एक लाख रुपैयाँबराबरको राहत सामग्री वितरण गरेको हो । राहत वितरणको दोस्रो चरणका लागि टोली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिकातर्फ गएको छ । टोलीमा ‘बल्छी धुर्बे’सँगै ‘बान्द्रे’, ‘पुकु’ र ‘साहुनी’ पात्रका रूपमा परिचित कलाकारहरू सहभागी हुनुहुन्छ । स्थानीय खगेन्द्र पोखरेलले राहत वितरणमा समन्वय गरिरहनुभएको छ । प्रभावित क्षेत्रमा पुग्दा पीडितले सरकारी राहत समयमै प्राप्त गर्न नसकेको गुनासो गरेको ‘बल्छी धुर्बे’ले बताउनुभयो ।
बाढीपीडितलाई महानायक हमालको २१ लाख सहयोग
महानायक राजेश हमालले अष्ट्रेलियामा आयोजित ‘मिट एण्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको छ । अष्ट्रेलियाको क्यानबेरामा आयोजित हमालसँगको ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा सहभागी प्रशंसक तथा शुभेच्छुकबाट उक्त रकम संकलन भएको हो । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको हमालले जानकारी दिनुभयो ।
राहत कोषमा बेनिशाको एक लाख ११ हजार रुपैयाँ सहयोग
अभिनेत्री बेनिशा हमालले सहयोगको हात अगाडि बढाउनुभएको छ । उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा एक लाख ११ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उहाँले आफ्नो कम्पनी मौरी पिक्चर्सको तर्फबाट कोषमा उक्त सहयोग जानकारी दिनुभएको छ । ‘यो कठिन र विनाशकारी समयमा मौरी पिक्चर्सको तर्फबाट प्रधानमन्त्रीको विपत् राहत कोषमा सानो योगदान,’ उहाँले आशा व्यक्त गर्दै भन्नुभयो, ‘हाम्रो सानो योगदानले यस विपत्बाट प्रभावितहरूलाई केही सहयोग पुर्याउनसक्छ ।’
बलिउड कलाकार सोनुको आवास निर्माणको प्रतिबद्धता
यसैबीच बलिउड अभिनेता सोनु सुद पनि भोटेकोशी बाढी प्रभावितलाई सहायता पुर्याउन नुवाकोट पुग्नुभयो । मुम्बईबाट आएको सहायता टोलीसहित उहाँ प्रभावित क्षेत्र पुग्नुभएको हो । उहाँले काठमाडौंको एक गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावित तथा बालबालिकासँग भेट गर्नुभएको थियो । उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै बाढीका कारण घरबारविहीन बनेका नागरिकका लागि आवास निर्माण गर्न ‘एक घर बनाउने संकल्प’ अभियान अघि बढाउने प्रस्तावसमेत गर्नुभएको छ ।
सुद च्यारिटी फाउण्डेशन, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर वास्तविक आवश्यकता पहिचान गरिरहेको छ । दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाइएको छ । नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा स्थलगत भ्रमण गरेर शिक्षा, स्वास्थ्य र आवासका क्षेत्रमा दीर्घकालीन सहयोगको योजना बनाउने उहाँको भनाइ छ ।
भोटेकोशी बाढीले निम्त्याएको विपत्मा कलाकारहरूको सहयोग केवल राहत सामग्री वितरणमा सीमित देखिएको छैन । तत्कालीन राहतदेखि उपचार, अस्थायी आवास र दीर्घकालीन पुनर्निर्माणसम्म कलाकार तथा सामाजिक अभियन्ताहरूको सक्रियता बढ्दै गएको छ । विपत्को पीडामा राज्यको प्रयाससँगै नागरिकस्तरबाट भइरहेको यस्तो सहयोगले प्रभावित परिवारलाई तत्काल राहतसँगै मनोबलसमेत प्रदान गरेको छ । यसअघि अन्य धेरै कलाकारले राहत र नगद सहयोग प्रदान तथा घोषणा गरेका छन् ।
