अमेरिकी पप गायिका अरियाना ग्राण्डेले आफ्नो वर्तमान सांगीतिक भ्रमण (टुर) सम्पन्न भएपछि केही समयका लागि सार्वजनिक गतिविधिबाट टाढिने निर्णय गर्नुभएको छ । पिपल म्यागजिनका अनुसार निरन्तर सार्वजनिक निगरानी र व्यक्तिगत जीवनमाथिको बढ्दो चासोका कारण उहाँले यस्तो निर्णय लिनुभएको हो ।
ग्रान्डेका प्रतिनिधिलाई उद्धृत गर्दै प्रकाशित समाचारमा सार्वजनिक जीवनले उहाँलाई निरन्तरको निगरानी र मानसिक दबाबको सामना गर्न बाध्य पारेको उल्लेख गरिएको छ । यही कारण उहाँले अर्को वर्षका लागि तय भएको स्टिफन सन्डहाइमको चर्चित म्युजिकल ‘सन्डे इन द पार्क विथ जर्ज’बाट पनि आफ्नो सहभागिता फिर्ता लिनुभएको छ ।
उक्त प्रस्तुति सन् २०२७को गर्मीयामदेखि लण्डनस्थित बार्बिकन सेन्टरमा मञ्चन हुने तय भएको थियो । यसमा ग्राण्डेसँगै चलचित्र ‘विकेड’का सहकलाकार जोनाथन बेली पनि अभिनय गर्ने कार्यक्रम थियो ।
बार्बिकन सेन्टरले आफ्नो आधिकारिक वक्तव्यमा ग्राण्डेको निर्णयप्रति सम्मान व्यक्त गर्दै उहाँको अवस्थाप्रति पूर्ण समझदारी र समर्थन रहेको जनाएको छ । ‘यो उहाँका लागि सहज निर्णय थिएन भन्ने हामीलाई थाहा छ, र हामी उहाँको निर्णयको सम्मान गर्छौं,’ वक्तव्यमा उल्लेख छ ।
हालै सार्वजनिक भएको ग्रान्डेको ‘पेटल’ म्युजिक भिडियो र सोही नामको एल्बमपछि उहाँको रूप, स्वास्थ्य र व्यक्तिगत जीवनबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बढ्दो टिप्पणी र अड्कलबाजी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘पेटल’ म्युजिक भिडियोमा ग्राण्डेले कलाकार बन्ने सपना बोकेकी एक युवतीको भूमिका निर्वाह गर्नुभएको छ । भिडियोमा पुरुष निर्णायकहरूको समूहले उहाँलाई बारम्बार अस्वीकार गर्दै उहाँको स्वरूप र व्यक्तित्वमाथि अपमानजनक टिप्पणी गरेको दृश्य प्रस्तुत गरिएको छ । समीक्षकहरूले यसलाई कलाकारमाथि हुने सार्वजनिक आलोचना र सामाजिक दबाबको प्रतीकात्मक अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् ।
तीनपटक ग्रामी अवार्ड विजेता ग्रान्डे हालै प्रदर्शन भएको चलचित्र ‘विकेड’ मा ग्लिण्डाको भूमिकाका लागि एकेडेमी अवार्ड (अस्कर)मा समेत मनोनयन हुनुभएको थियो । उहाँको वर्तमान सांगीतिक भ्रमणअन्तर्गत अमेरिकाको सिकागोमा तीन प्रस्तुति बाँकी छन् । त्यसपछि उहाँले बेलायतको लण्डनस्थित ओटू एरिनामा लगातार दश रात प्रस्तुति दिने कार्यक्रम छ । यो भ्रमण आगामी सेप्टेम्बर १ मा सम्पन्न हुने तय गरिएको छ ।
