महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

एसियन जुनियर चेस खेल्न नेपाली टोली मुम्बई प्रस्थान

एसियन जुनियर चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली चेस टोली आइतबार भारतको मुम्बई प्रस्थान गरेको छ । अल इण्डिया चेस फेडेरेसन (एआइसिएफ)को आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट जुनियर च्याम्पियन एआइएम अभिक शाह र दानिशा पुरीले प्रतिस्पर्धा गर्नुहुनेछ । टोलीलाई नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

प्रतियोगिताको प्रोटेस्ट तथा अपिल कमिटीमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन रहनुहुनेछ भने फिडे आर्विटर एफए सोराज ताम्राकारले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

एसियन जुनियर चेस च्याम्पियनसिपमा क्लासिकल, रापिड र ब्लिट्ज गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विभिन्न ६ देशका ६२ खेलाडीले सहभागिता जनाउनेछन् ।

विश्व बुद्धिचाल महासंघ (फिडे)को आधिकारिक प्रतियोगिताका रूपमा रहेको च्याम्पियनसिपमा उपाधि विजेताले अन्तर्राष्ट्रिय मास्टर (आइएम)को टाइटलसँगै ग्राण्ड मास्टर (जिएम)का लागि नर्म प्राप्त गर्नेछन् । यस्तै, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले फिडे मास्टर (एफएम) टाइटल तथा अन्तर्राष्ट्रिय मास्टरको नर्म प्राप्त गर्नेछन् । नेपाली खेलाडीले एसियालीस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय उपाधि तथा नर्म हासिल गर्ने लक्ष्य राखेका छन् ।

सेयर गर्नुहोस्: