नागपञ्चमीको सुरुवातसँगै भोजपुरमा परम्परागत संस्कृति तथा संस्कारको जगेर्नाका लागि युवाहरूको सक्रियतामा लाखे नाच सुरु भएको छ।
भोजपुर सदरमुकाममा नागपञ्चमीदेखि प्रत्येक वर्ष लाखे नाच विधिवत् रूपमा सुरु गर्ने गरिन्छ। भोजपुरका प्रसिद्ध सिद्धकाली तथा स्थानीय मठमन्दिरमा विधिवत् पूजाआजा गरेपछि लाखे नाच सुरु गरिएको भोजपुर बजार लाखे समाजका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार भोजपुरमा दुई सय वर्षभन्दा पुरानै समयदेखि लाखे नाच प्रचलनमा रहेको छ। पछिल्लो समय युवाहरूको सक्रियतामा यसलाई व्यवस्थित र नियमबद्ध बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।
“विगत दुई सय वर्षभन्दा पुरानो लाखे नाच भोजपुरवासी परिचित छन्। अहिले यो नाचलाई युवाको सक्रियतामा व्यवस्थित र नियमबद्ध बनाउन प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।
लाखे नाच नेवार समुदायको प्रसिद्ध नाच तथा संस्कृति भए पनि भोजपुरमा यसको निरन्तरताका लागि जिल्लाका विभिन्न समुदायबीच समन्वय र सहकार्य हुँदै आएको भोजपुर लाखे समाजका सचिव नवीन प्रधानले बताउनुभयो। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्ने कार्यमा लाखे नाच संरक्षणका लागि सबैको सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ।
भोजपुरका युवाहरूले पुरानो कला तथा संस्कृतिको संरक्षणमा चासो देखाउन थालेको नेवार समुदायका अगुवाहरू बताउँछन्। नेवार समुदायको मौलिकता झल्काउने पुराना संस्कृतिहरू लोप हुन नदिन युवाहरूमा सक्रियता बढ्दै गएको स्थानीय दिपेन्द्र श्रेष्ठले बताउनुभयो।
भोजपुर नगरपालिकाभित्र बजार क्षेत्रका साथै टक्सार, बोखिम, दाँवा, भैंसीपङ्खालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ। जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिकाका विभिन्न वडालगायत क्षेत्रमा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ।
नागपञ्चमीका दिनदेखि सुरु हुने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंसलाई नाश गरेको दिनसम्म नचाउने प्रचलन रहेको छ। परम्पराअनुसार यस अवधिभर विभिन्न स्थानमा लाखे नाच प्रदर्शन गरिन्छ।
