नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले क्यानडा सुपर-६० को दोस्रो सिजन खेल्ने हुनुभएको छ । उहाँलाई टोरेन्टो सिक्सर्सले प्रतियोगिताका लागि अनुबन्ध गरेको हो । टोरेन्टो सिक्सर्सले सामाजिक सञ्जालमार्फत् इन्दुलाई दोस्रो सिजनका लागि टोलीमा भित्र्याइएको जानकारी दिएको हो । इन्दु पहिलोपटक क्यानडा सुपर-६० मा सहभागी हुन लाग्नुभएको हो ।
टोरेन्टोबाट खेल्दै इन्दु क्यानडा सुपर-६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्नुहुनेछ । नेपाली महिला क्रिकेटका लागि यो सहभागिता अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा नयाँ अवसरका रूपमा हेरिएको छ । टी-२० ढाँचामा आयोजना हुने क्यानडा सुपर-६० को दोस्रो सिजन आगामी सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ ।
नेपाली महिला राष्ट्रिय टोलीको नेतृत्व गरिरहेकी इन्दुले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ । क्यानडा सुपर-६० मा उहाँको सहभागिताले नेपाली महिला क्रिकेटरका लागि विदेशी फ्रेन्चाइज प्रतियोगिताको ढोका थप फराकिलो हुने अपेक्षा गरिएको छ ।
