भोजपुरमा प्रहरीले भोजपुर नगरपालिका र गाउँपालिकामा रहेका का विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रहरीसँग साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय, इलाका र मातहतका चौकीहरुले विद्यालय स्तरीय सचेतना अभियान सञ्चालन गरि रहेका हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक आशिस रायमाझीकाअनुसार जिल्लामा श्रावण महिनामा ४ विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । भोजपुर नगरपालिकामा रहेको समता स्कूल, षडानन्द नगरपालिकामा रहेको षडानन्द मावि दिङला, रामप्रसाद राई गाउँपालिकाको नवदुर्गा मावि दलगाउँ र बेहेश्वर मावि मानेभञ्ज्याङमा विद्यार्थी र अभिभावक केन्द्रित सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
एक जिल्ला एक समस्याअन्तर्गत लागु औषध दुर्व्यसन, आत्महत्या, मानव बेचबिखन, विपद् लगायतका बिषयमा विद्यालय स्तरीय कार्यक्रम भएको हो । १२ देखि १९ बर्षका वालबालिकाहरुलाई मध्यनजर गर्दे कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कार्यक्रममा तीन सय बढी विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।
अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकाले जिल्ला तहमा यस्ता कार्यक्रम सञ्चालन भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताउनुभयो ।
