महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो

सन्तोष घिमिरेद्वारा महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा उम्मेदवारी घोषणा

सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुलीको सुनकोशी गाउँपालिकाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै क्रममा सुनकोशी गाउँपालिकाका युवा नेता सन्तोष घिमिरेले महाधिवेशन प्रतिनिधि (दलित कोटा) तर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

घिमिरेले एक विज्ञप्तिमार्फत आफूले महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले क्षेत्रीय प्रतिनिधिहरूप्रति पूर्ण विश्वास रहेको भन्दै उम्मेदवारी घोषणा गरेको बताएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, “महाधिवेशनमा मेरो उम्मेदवारी महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा हुँदा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरूप्रति पूर्ण विश्वास रहेको हुँदा मैले यो उम्मेदवारी दिने घोषणा गर्दछु।”

सुनकोशी गाउँपालिकाका सातवटै वडाबाट पदेनसहित १६८ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन्। आगामी क्षेत्रीय अधिवेशनमा तिनै क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्।

दलित समुदायको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका घिमिरे पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न सक्ने नेताका रूपमा परिचित रहेको उनका समर्थकहरूको भनाइ छ।

घिमिरेले क्षेत्रीय प्रतिनिधि छेडुप लामा, सातवटै वडाका नवनिर्वाचित वडा सभापतिहरू राजु कोइराला, बिजु मोक्तान, मदन आचार्य, रजिन मगर, अर्जुन थापा, दामोदर उप्रेती, चासुम थोकरलगायत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूबाट आफूलाई विश्वास र सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको बताए।

घिमिरेको उम्मेदवारी घोषणासँगै सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसको आगामी क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक गतिविधि थप बढेको छ।

सेयर गर्नुहोस्: