महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

शिक्षा क्याम्पसले टिकटक भिडियो प्रतियोगिता गर्ने

काठमाडौं शिक्षा क्याम्पसले शैक्षिक सत्र २०८३/८४को भर्ना अभियान थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसले जारी गरेको सूचनाअनुसार बिसिए, बिबिएस, बिइडी, एमबिएस तथा एमइडी कार्यक्रमसँग सम्बन्धित भिडियो सामग्री निर्माण गरी विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

क्याम्पसका अनुसार प्रतियोगितामा सहभागी हुने भिडियोहरू काठमाडौं शिक्षा क्याम्पस परिसरमा छायांकन गरिएको, ३० सेकेण्डदेखि एक मिनेट अवधिको हुनुपर्नेछ । भिडियोमा क्याम्पसका शैक्षिक कार्यक्रम, शिक्षण–सिकाइ वातावरण, भौतिक पूर्वाधार, सूचना प्रविधिमा आधारित अभ्यास, विद्यार्थी जीवन, अतिरिक्त क्रियाकलाप तथा भर्ना अभियानसँग सम्बन्धित विषयवस्तु समेट्नुपर्नेछ । २०८३ साउन १४ गतेदेखि भदौ १३ गतेसम्म विद्यार्थीहरूले आफ्ना भिडियोहरू टिकटकमा सार्वजनिक गरी प्रतियोगितामा सहभागी हुन सक्ने बताइएको छ ।

मूल्यांकन गर्दा विषयवस्तुको गुणस्तर अर्थात् कन्टेन्ट, लाइक, कमेन्ट, सेयर र भ्यूज निर्णायक मण्डलको मूल्यांकन तथा प्रस्तुतीकरणलाई आधार बनाइने सूचनामा उल्लेख छ । व्यक्तिगत तथा समूह दुवै विधामा उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । व्यक्तिगततर्फ पुरस्कार सात हजार पाँच सय, द्वितीय पुरस्कार पाँच हजार, तृतीय पुरस्कार तीन हजार र सान्त्वना पुरस्कार दुई हजार रुपैयाँ रहेको छ ।

त्यस्तै समूहतर्फ प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार सात हजार पाँच सय, तृतीय पुरस्कार पाँच हजार र सान्त्वना पुरस्कार तीन हजार रुपैयाँ रहेको छ । समूह प्रतियोगितामा न्यूनतम तीनजना विद्यार्थी सहभागी हुनुपर्नेछ । काठमाडौं शिक्षा क्याम्पसले प्रतियोगितालाई केवल प्रचारात्मक कार्यक्रमका रूपमा नभई विद्यार्थीको डिजिटल क्षमता विकास गर्ने शैक्षिक अभियानका रूपमा लिएको जनाएको छ ।

आजको डिजिटल युगमा विद्यार्थीले पाठ्यपुस्तकको ज्ञानसँगै डिजिटल सञ्चार, भिडियो निर्माण, कथा प्रस्तुतीकरण, सिर्जनात्मक सोच, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, ब्राण्डिङ तथा डिजिटल मार्केटिङजस्ता सीपहरू पनि विकास गर्न आवश्यक हुने भएकाले सोही आवश्यकता मध्यनजर गर्दै क्याम्पसले विद्यार्थीलाई आफ्नै संस्थाको दूत बन्ने अवसर प्रदान गरेको जनाएको छ ।

शिक्षाविद्हरूका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीको समग्र सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्छ । क्याम्पसले प्रतियोगितामार्फत् ‘विद्यार्थीद्वारा सिर्जना गरिएको सामग्री’लाई संस्थागत प्रवर्द्धनसँग जोड्दै डिजिटल शिक्षाको नयाँ अभ्यास प्रारम्भ गरेको जनाएको छ ।

सेयर गर्नुहोस्: