महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

ओडिआई मान्यता जोगाउन नेपालसामु चार खेलमा शतप्रतिशत जितको चुनौती

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड, क्यानडा र युएई सम्मिलित पछिल्लो शृंखला सकिएसँगै नेपालको शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्ने सम्भावना निकै कठिन बनेको छ । तर, शीर्ष ६ मा पर्दै एकदिवसीय (ओडिआई) मान्यता जोगाउने अवसर भने नेपालसँग अझै कायम छ ।

हाल स्कटल्याण्ड ३६ खेलबाट ४५ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका ४३, नेदरल्याण्ड्स ३८, ओमान ३१, नामिबिया २८, क्यानडा २५, नेपाल २४ र युएई १८ अंकसहित क्रमशः दोस्रोदेखि आठौं स्थानमा छन् ।

नेपालले अब लिग-२ मा चार खेल खेल्न बाँकी छ । नेपालले ओमान र क्यानडासँग दुई-दुई खेल खेल्नेछ । यी चारै खेल जिते नेपाल ३२ अंकमा पुग्नेछ र शीर्ष चारको सम्भावना गणितीय रूपमा कायम रहनेछ । तर, त्यसका लागि ओमानले बाँकी खेलमा अत्यन्त कमजोर प्रदर्शन गर्नुपर्नेछ भने नामिबिया र क्यानडाको नतिजा पनि नेपालको पक्षमा आउनुपर्नेछ ।

शीर्ष चारको सम्भावना कमजोर भए पनि नेपालको मुख्य लक्ष्य भने शीर्ष ६ मा पर्दै ओडिआई मान्यता जोगाउनु हो । क्यानडा अहिले नेपालभन्दा एक अंकले मात्र अगाडि छ । नेपालले क्यानडाविरुद्धका दुवै खेल जितेमा कम्तीमा २८ अंकमा पुग्नेछ र छैटौं स्थानको होडमा बलियो बन्नेछ ।

नेपालले चारमध्ये तीन वा चार खेल जित्न सके ३० देखि ३२ अंक पुग्ने भएकाले ओडिआई मान्यता जोगाउने सम्भावना निकै बलियो हुनेछ । तर, चारमध्ये दुई खेलमा मात्र जित निकालेर २८ अंकमा सीमित भएमा नेपालले युएई, क्यानडा र नामिबियाको बाँकी खेलका नतिजामा निर्भर रहनुपर्नेछ ।

पछिल्लो शृंखलामा खराब प्रदर्शनपछि नेपालको कप्तानी परिवर्तन गरिएको छ । रोहित पौडेलको स्थानमा सन्दीप लामिछाने कप्तान बन्नुभएको छ । आगामी लिग-२ शृंखलामा कप्तान सन्दीपसहित नेपाली टोलीसामु चारै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओडिआई मान्यता जोगाउने मुख्य चुनौती हुनेछ ।

सेयर गर्नुहोस्: