शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ६४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८९ प्रतिशतले वृद्धि भई २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ रहेको थियो । यस्तै, खुद फी तथा कमिशन आम्दानी ३.२३ प्रतिशतले बढेर ३१ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३० करोड १९ लाख रुपैयाँ थियो । बैंकको कुल सञ्चालन आम्दानी पनि ६.३९ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ रहेको थियो । आम्दानीसँगै सञ्चालन मुनाफामा उल्लेखनीय सुधार देखिएको छ । बैंकको सञ्चालन मुनाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा सञ्चालन मुनाफा ९१ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
वित्तीय सूचकहरूमा पनि बैंकले सकारात्मक वृद्धि हासिल गरेको छ । बैंकको कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म ५ अर्ब २ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब १४ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख रुपैयाँबाट बढेर ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ५६ अर्ब ९० करोड ७१ लाख रुपैयाँबाट वृद्धि भएर ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) भने ४.९३ प्रतिशत कायम रहेको वित्तीय विवरणमा उल्लेख छ ।
