एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक वार्षिक खुद नाफा रु. ४ अर्बभन्दा माथि पुर्याएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६५ प्रतिशतले नाफा वृद्धि गर्दै रु. ४ अर्ब १ करोड खुद नाफा आर्जन गरेको जनाएको छ ।
बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु. २ अर्ब ८५ करोड खुद नाफा रहेको थियो । यस वर्षको उल्लेखनीय वित्तीय प्रदर्शनसँगै बैंकले आफ्नो इतिहासमै पहिलोपटक रु. ४ अर्बको नाफाको कोसेढुङ्गा पार गरेको हो । वित्तीय विवरणअनुसार बैंकको कुल वितरणयोग्य नाफा रु. १ अर्ब ८७ करोड पुगेको छ भने प्रति शेयर वितरणयोग्य नाफा रु. ९.०८ कायम भएको छ ।
प्रभावकारी स्रोत तथा दायित्व व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशतले वृद्धि भई रु. ९ अर्ब ४२ करोड पुगेको छ । त्यसैगरी डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६५ प्रतिशतले बढेर रु. २ अर्ब ८३ करोड पुगेको बैंकले जनाएको छ । ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आएपछि बैंकको खुद ट्रेडिङ आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। उक्त आम्दानी ८९.०५ प्रतिशतले वृद्धि भई रु. ६८ करोड १४ लाख पुगेको छ ।
बैंकका अनुसार वित्तीय सूचकहरूमा पनि सकारात्मक सुधार देखिएको छ । पुँजी प्रतिफल (च्भतगचल यल भ्त्रगष्तथ) ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ, जसले बैंकको सञ्चालन क्षमता र वित्तीय सुदृढता थप मजबुत भएको संकेत गरेको छ ।
एनएमबि बैंकले नाफा, ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानीसँगै प्रमुख वित्तीय सूचकहरूमा हासिल गरेको सुधारले बैंकको समग्र व्यवसायिक विस्तार र दिगो वित्तीय वृद्धिलाई प्रतिबिम्बित गरेको जनाएको छ ।
