रसुवा । भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र फसेका मानिसको खोजीमा खटिएको नेपाली सेनाको उद्धार टोली खोजी कार्य सम्पन्न गरी धुन्चे फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।
टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्नुका साथै ड्रोन उडाएरसमेत निरीक्षण गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिसको उपस्थिति फेला परेन।
सुरुङको अन्तिम बिन्दुसम्म पुग्दा समेत मानवीय उपस्थिति नदेखिएपछि त्यहाँ मानिस फसेको आशंका टरेको सेनाले जनाएको छ।
खोजी कार्यबाट कुनै मानिस नभेटिएपछि नेपाली सेनाको टोली आयोजनास्थलबाट फर्किएर रसुवाको सदरमुकाम धुन्चे पुगेको छ।
